राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गरेका छन्। चुनावी अभियान औपचारिक रूपमा सुरु गर्नुअघि उनले समय निकालेर शुक्रबार बिहानै पाथीभरा मन्दिर पुगेका हुन्।
झापा–५ का उम्मेदवारसमेत रहेका शाहले मुक्कुमलुङ पुगेर पाथीभरा माताको दर्शन गर्दै मन्दिर परिसरको अवलोकन गरेका थिए। दर्शनका क्रममा उनले पाथीभरा क्षेत्रको प्राकृतिक सुन्दरता र यसको आध्यात्मिक महत्वबारे समेत चर्चा गरेका छन्।
शाह चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार साँझ ताप्लेजुङ पुगेका थिए। पाथीभरा दर्शनपछि उनी आजै तेह्रथुम हुँदै पुनः झापा फर्किने कार्यक्रम रहेको बताइएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शक्तिपीठ पाथीभरा देवीको दर्शनलाई उनले चुनावी यात्राको शुभारम्भका रूपमा लिएको उनका निकटवर्तीहरू बताउँछन्।
