Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पाँच दलका पाँच दाबेदार : को बन्ला नेपालको भावी प्रधानमन्त्री? (भिडियोसहित)

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले आफ्ना–आफ्ना तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरेका छन्। यसपटकको निर्वाचनमा नयाँ र पुराना दलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ भने प्रधानमन्त्रीको दौडमा पाँच चर्चित नेताहरू अघि आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। पार्टी सभापती रवि लामिछानेको नेतृत्वमा अघि बढिरहेको रास्वपाले बालेन शाहलाई चुनावपछि प्रधानमन्त्री बनाउने समझदारीसहित पार्टीमा भित्र्याएको हो । युवाहरु माझ लोकप्रिय छवि बनाएका बालेन शाहलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै रास्वपाले व्यापक जनसमर्थन जुटाउने प्रयास गरिरहेको छ।

यस्तै नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। “देशका लागि फेरि एकपटक ओली” भन्ने नारासहित एमाले चुनावी मैदानमा उत्रिएको छ। अनुभवी र सशक्त नेताको रूपमा ओलीलाई प्रस्तुत गर्दै एमालेले स्थिर सरकार र बलियो नेतृत्वको वकालत गरिरहेको छ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीका दाबेदार हुन्। यद्यपि, नेपाली कम्युनिष्ट पार्टीले औपचारिक रूपमा यसको घोषणा भने गरेको छैन। प्रचण्डलाई नेपाली राजनीतिका चतुर खेलाडीका रूपमा चिनिन्छ। यसअघि उनले केवल २९ सिट प्राप्त गरेर पनि १८ महिनासम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। पार्टी बैठकको निर्णयअनुसार कांग्रेस गगन थापाको नेतृत्वमा चुनावमा जाने तयारीमा जुटेको छ। युवापुस्तामाझ लोकप्रिय तथा सुधारवादी नेताको छवि बनाएका थापालाई कांग्रेसले पुस्तान्तरण र नीतिगत सुधारको प्रतिनिधिका रूपमा प्रस्तुत गरेको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्। उनी सार्वजनिक कार्यक्रमहरूमा फागुन २१ पछि आफू नै देशको प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्। स्वतन्त्र शैली र श्रम संस्कृतिको अभियानमार्फत परिचित साम्पाङले वैकल्पिक राजनीतिलाई बलियो बनाउने दाबी गरेका छन्।

नेपालको संसदीय प्रणालीअनुसार प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुँदैन। प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने दल वा गठबन्धनको नेताले प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छ। सरकार गठनका लागि २७५ सदस्यीय प्रतिनिधि सभामा कम्तीमा १३८ सिट आवश्यक पर्छ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले १३८ सिट ल्यायो भने बालेन शाह प्रधानमन्त्री बन्नेछन्। एमालेले बहुमत ल्याए केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीले ल्याए प्रधण्ड। नेपाली कांग्रेसले बहुमत ल्याए गगन थापा र श्रम संस्कृति पार्टीले १३८ सिट प्राप्त गरे हर्क साम्पाङ प्रधानमन्त्री बन्नेछन्। ओली र बालेन एउटै क्षेत्रमा चुवान लड्ने भएका कारण पाँच दलका पाँच दाबेदार भावी प्रधानमन्त्रीमा भने चार जना मध्ये एकलाई मात्रै पाउनेछौँ ।

चुनावी माहोल हेर्दा यसपटक नयाँ र पुराना राजनीतिक शक्तिहरूबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जनतामा परिवर्तनको चाहना, स्थिरताको खोजी र वैकल्पिक राजनीतिप्रतिको आकर्षणले निर्वाचनको नतिजा कसतर्फ जान्छ भन्ने चासो बढेको छ।

अन्ततः भावी प्रधानमन्त्री को बन्ने भन्ने निर्णय जनताकै हातमा छ। मतदाताले कसलाई रोज्नेछन् र कुन पार्टीलाई बहुमत दिनेछन् भन्ने कुरा फागुन २१ पछि मात्रै स्पष्ट हुनेछ।