नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएकाे छ । राष्ट्रिय बास्केटबल खेलाडी कुशवाहा खेलजगतको एउटा परिचित अनुहार यस पटक प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको हो ।
अजय बास्केटबलमा राष्ट्रियस्तरमा चिनिएका खेलाडी हुन् । कोर्टमा अनुशासन र टीमवर्कका लागि परिचित उनी अहिले मतदातामाझ आफूलाई राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने चुनौतीमा छन् । खेलकुदबाट आएको लोकप्रियता राजनीतिमा कत्तिको काम लाग्ला भन्ने चासो बारा ४ मा देखिन थालेको छ ।
खेलाडीको परिचय बोकेर चुनावी प्रतिस्पर्धामा उत्रनु अजयका लागि नयाँ अनुभव पनि हो । यधपी उनको उम्मेदवारी केवल खेलकुद पहिचानकै कारण भएको भन्ने विषयमा भने विवाद पनि छ ।