Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता हुँदा एकजना मात्रै युवा परेका छन् भने महिला र दलितको सङ्ख्या शून्य छ । एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा युवा उमेर समूहबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट ३८ वर्षीय प्रकाश काफ्लेको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ र श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा ४० वर्षको छन् । अन्य दलका उम्मेदवारको उमेर ४२ वर्षदेखि ६९ वर्षसम्म रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जेनजी पुस्ताको आन्दोलनबाट नयाँ सरकार गठन भई प्रतिनिधिसभा सदस्य निर्वाचन हुन लागेको भए पनि यहाँ युवा उमेर समूहबाट अत्यन्तै कम मात्रै उम्मेदवारी परेको हो । मुख्य राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नयाँ अनुहार ल्याएका छन् । 
 
नेपाली कांग्रेसबाट कांग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङ उम्मेदवार हुन् । उनी विसं २०७० मा सम्पन्न संविधानसभा निर्वाचन तथा विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार भइसकेको छ । एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङ दोस्रो संविधानसभाको सदस्य तथा एमालेको केन्द्रीय सदस्य हुन् । 
 
नेपाली कम्युनिष्ट पार्टीले तत्कालीन नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ वर्षीय तेजकुमार कुरुम्बाङलाई उम्मेदवार बनाएको छ । उनी निर्माण व्यवसायी सङ्घको उपाध्यक्षसमेत भइसकेको छ । 
 
त्यस्तै पाँचथरमा महिला र दलित समुदायबाट उम्मेदवारी परेको छैन । जिल्लामा यस पटक स्वतन्त्र उम्मेदवारीसमेत नपरेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए। एक लाख ७२ हजार ४०० जनसङ्ख्या रहेको पाँचथरमा लिम्बू समुदायको जनसङ्ख्या ७४ हजार ७७५ अर्थात् ४३ दशमलव ३७ प्रतिशत छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ उम्मेदवारमध्ये १३ जना लिम्बू समुदायबाट हुन् । जिल्लामा एक लाख ४३ हजार ४०८ जना मतदाता छन् ।