Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

टिकटको चटारोले काठमाडौंमा नै सभापति थापा, वारेसमार्फत गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार थापाको उम्मेदवारीको प्रस्तावक उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेका छन्।

यसअघिसम्म काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट लगातार निर्वाचन लड्दै आएका थापाले यसपटक अन्तिम समयमा सर्लाही–४ रोजेका हुन्। समयको चापका कारण थापा स्वयं उपस्थित हुन नसकेपछि नेता वीरेन्द्र सिंह वारेस बनेर उम्मेदवारी दर्ता गराइएको कांग्रेस नेता निरोज कार्कीले जानकारी दिए।

सर्लाही–४ मा थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टी बाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट रामेश्वर राय यादव र नेकपा (एमाले) बाट रविशङ्कर कुशवाहाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

थापा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–४ बाट अत्यधिक मतसहित निर्वाचित भए। २०७३ सालमा करिब नौ महिना स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका थापा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं–४ बाट पुनः निर्वाचित भएका थिए।

सर्लाही–४ मा थापाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक र चासोपूर्ण बनेको छ।