Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमाले परित्याग गरी नेकपामा प्रवेश, अम्बिरबाबु गुरुङ ओखलढुंगाबाट बने उम्मेदवार

नेकपा (एमाले) का नेता तथा पूर्व प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै नेकपाले उनलाई ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ।

गुरुङले नेकपाबाट टिकट पाएपछि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। उनले आगामी निर्वाचनमा तारा चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन्।

गुरुङ २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट ओखलढुंगाबाट निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यका रूपमा उनले कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

नेकपामा प्रवेशपछि प्रतिक्रिया दिँदै गुरुङले एमालेमा आफ्नो राजनीतिक भविष्य नदेखिएको बताए। वर्तमान राजनीतिक परिस्थितिमा देशका लागि आवश्यक वैकल्पिक शक्ति नेकपा भएको दाबी गर्दै उनले जनताको विश्वास जितेर विकासका कामलाई थप तीव्रता दिने प्रतिबद्धता जनाए।

ओखलढुंगा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको भए पनि वामपन्थी दलहरूले पनि यहाँ उल्लेख्य प्रदर्शन गर्दै आएका छन्। पूर्वाधार विकास, सडक विस्तार, रुम्जाटार विमानस्थल सञ्चालन, भ्रष्टाचारविरुद्ध अभियान र क्षेत्रीय विकासमा सक्रिय भूमिका खेलेका गुरुङ यस क्षेत्रमा परिचित नेताका रूपमा चिनिन्छन्। उनको उम्मेदवारीसँगै ओखलढुंगाको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।