नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ को निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै जनताको फैसला सुन्न चुनावी मैदानमा आएको बताएका छन्। दमकमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, “भने घर भत्काएर मात्रै देश बन्छ र देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुनः झापा ५ मा उम्मेदवार भएर आएको छु।”
उनले एमाले पारदर्शी भएकाले हल्लाखल्ला भइरहेको दाबी पनि गरे। उनले भने, “हाम्रामा छलफल हुन्छ, तर्क वितर्क हुन्छ, अरूले थाहा पाउँछ्न्। त्यही भएर हल्ला खल्ला हुन्छ।”
ओलीले पार्टीले आसन्न निर्वाचनका लागि टिकट वितरण पारदर्शी रूपमा गरेको बताए। “पार्टीले तौलिएर नै टिकट वितरण गरेको छ। लाखौँ कार्यकर्ता भएको पार्टीमा एक दुई जना अराजक हुनु ठूलो कुरा होइन,” उनले भने।
ओलीले केहीले आफूलाई भिलेनको रूपमा प्रस्तुत गर्न खोजेको दाबी गर्दै भने, “हामीले गरेको विकासबाट आत्तिएर केही मानिसहरू हामीलाई भिलेन करार गर्न लागेका छन्। यो सम्भव छैन। केही भएन भनेर निराश हुनुहुँदैन। अहिले अकबरे खोर्सानी बेच्नेले पनि करोडौँ कमाएको छ। सब्जी खेती गर्नेले मात्र लाखौँ कमाउँछ।”