नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट माधव पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पन्तलाई टिकट प्रदान गर्दै उम्मेदवार बनाउने निर्णय गरेका हुन्।
कञ्चनपुर–२ का सम्भावनाशील नेताका रूपमा चिनिँदै आएका पन्त अध्ययनशील, बौद्धिक र कर्मठ व्यक्तित्व हुन्। उनी त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधी (PhD) अध्ययनरत छन्। यसका साथै उनले अङ्ग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन (LLB) उपाधि हाँसिल गरेका छन्।
वि.सं. २०५९ सालदेखि करिब २४ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय पन्तले विद्यार्थी राजनीतिबाट सुरु गरेको यात्रा आज पार्टीको केन्द्रीय तहसम्म पुर्याएका छन्। यस अवधिमा उनले जनताका साना–ठूला समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै सहयोगी, प्रतिबद्ध र जनउत्तरदायी नेताको पहिचान बनाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका पन्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा 'अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति विषयका अतिथि प्राध्यापक (Guest Lecturer)' का रूपमा पनि परिचित छन्। उनी अन्तर्राष्ट्रिय राजनीतिका जानकार, ऊर्जाशील र मिलनसार युवा नेताका रूपमा स्थापित छन्।
युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका पन्त Gen Z को चाहना अनुसार राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन गर्न सक्ने क्षमता भएका नेताका रूपमा हेरिन्छन्। उनी आजका युवाका मार्गदर्शक बन्दै अघि बढिरहेका छन्।
शुक्लाफाँटा नगरपालिका–५ निवासी पन्त जनआन्दोलन २०६२/६३ मा घाइते भए तापनि आफ्नो राजनीतिक विचार र आस्थामा दृढ रहँदै निरन्तर सक्रिय छन्। राजनीतिक यात्राकै क्रममा उनले भारत, चीन, ब्राजिल, अमेरिका, कोलम्बिया, संयुक्त अरब इमिरेट्स (UAE), दक्षिण अफ्रिका लगायत विभिन्न देशको भ्रमण गरी त्यहाँका विकास मोडेलको अनुभव हासिल गरेका छन्।
पन्तको अन्तर्राष्ट्रिय अनुभव, शैक्षिक योग्यता र राजनीतिक प्रतिबद्धता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का जनताका लागि नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।