काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार डंगोल स्वतः कार्यबाहक प्रमुख बनेकी हुन्।
ऐनअनुसार मेयरको पद रिक्त भएमा उपमेयरले कार्यबाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरको नेतृत्व सम्हाल्ने भएकी हुन्।
यसैबीच, राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। कार्यालय परिसरमा कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दिउँसो १ बजे नै कार्यालय पुग्ने कार्यक्रम भए पनि राजीनामासँग सम्बन्धित विषयमा अन्तिम निर्णय गर्न केही समय लागेकाले उनी ढिला पुगेका हुन।
बालेन शाह रास्वपाबाट झापा–५ निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा रहेका छन। हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् भने पार्टीले यसअघि नै उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।