प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार चयनमा दलहरूलाई समय अभाव भएपछि निर्वाचन आयोगले मनोनयन दर्ताको मिति केही दिन सार्ने संकेत गरेको छ। दलहरूको तर्फबाट औपचारिक तथा अनौपचारिक रूपमा मनोनयन मिति सार्न माग आएपछि आयोगले समय व्यवस्थापनबारे छलफल अघि बढाएको हो।
आयोगका एक आयुक्तका अनुसार विभिन्न दलबाट मिति सार्न चौतर्फी दबाब आएको छ। आयोगले २१ फागुनमा तोकिएको निर्वाचन मिति भने प्रभावित नहुने गरी मनोनयनको समय सार्ने तयारी गरेको जनाएको छ।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेको आयोग स्रोतले जनाएको छ।