बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा हाललाई होल्ड गरेका छन्। उनी आजै राजीनामा दिने तयारीमा रहेको जानकारी निकट स्रोतहरूले दिएका थिए।
बालेन शाह निकट एक नेताका अनुसार वर्तमान राजनीतिक तथा कानुनी अनिश्चितताका कारण राजीनामाको निर्णय तत्काल कार्यान्वयन नगरिएको हो। ती नेताले भने, “अहिले नै राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भन्ने अवस्था छैन। अन्तिम समयसम्म निर्णय होल्ड हुनेछ। कांग्रेस अदालत गएको छ, त्यहाँबाट केही निर्णय आउन सक्छ। भोलि चुनाव सर्ने वा अन्य कुनै सम्भावना पनि रहन सक्छ। यही अनिश्चितताका कारण अहिले राजीनामा रोकिएको हो।”
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्था रहेको हुँदा पनि शाहले मेयर पदबाट तत्काल राजीनामा नदिएको बताइएको छ। राजीनामा नदिई केही बेरमा उनी रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर जाने तयारीमा रहेका छन्।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि वरिष्ठ नेता शाह पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू सहभागी हुनेछन्।
केन्द्रीय समिति बैठकपछि सभापति लामिछाने र बालेन शाहसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेको स्रोतले जनाएको छ।