Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गगन र विश्वप्रकाशले शेरबहादुरलाई भेटेर भने- अभिभावकीय भूमिका निर्वाह गरीदिनुहोस्

कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले शनिबार पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रवक्ता देवराज चालिसेका अनुसार देउवालाई भेट्न सभापति थापा र उपसभापति शर्मा महाराजगन्जम शनिबार दिउँसो केन्द्रीय समितिको बैठक लगत्तै पुगेका हुन् ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिलाई मान्यता दिँदै कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेपछि सभापति थापा र निवर्तमान सभापति देउवाबिच भएको पहिलो भेटवार्ता हो। थापा र शर्माले देउवालाई भेटेर अभिभावक, संरक्षकको भूमिका खेलीदिन आग्रह गरेको नेताहरुले बताएका छन् ।

सभापति थापाले देउवाबाट अभिभावक, संरक्षकको भूमिकाको अपेक्षा गरेको त्यसअघि बताएका थिए । केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘उहाँहरूबाट अभिभावकको भूमिकाको अपेक्षा गरेको छु, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु। उहाँले पनि आह्वान गर्दिनुपर्छ। उहाँले देशभरिका साथीहरूलाई भन्दिनुपर्छ अब यो रोक, सकियो।’

शनिबार देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा जाने निर्णय गरेको छ । शुक्रबार राति देउवा निवास महारागञ्जमा बसेको नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, दीपक खड्कालगायतको बैठकले देशभर आन्दोलनका कार्यक्रम घोषण गरेर जाने निष्कर्ष निकालेको थियो ।

यो बैठकको निचोड अनुसार शनिबार बसेको विघटित केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय विरूद्ध अदालत जाने निर्णय गरेको हो । मुद्दा मामिला तथा कानुनी कारबाहीका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय भएको पनि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।