नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अघि बढाउने बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुँदै यस्तो बताएका हुन् । उनले विगतका तिक्तता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउने बताएका हुन् ।
थापाले निर्वाचन आयोगले निर्णय गरिसकेपछि त्यसलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 'पार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एक/दुई दिनभित्र सिङ्गो काँग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,' उनले भने।
उनले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिँदै गएको उल्लेख गरे । समयको चाप रहे पनि सबैलाई साथमा लिएर पार्टी अघि बढाउने दृढता उनले व्यक्त गरे।