निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।
आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी अन्योल औपचारिक रूपमा टुंगिएको छ। विशेष महाधिवेशनमार्फत चयन भएका थापालाई कानुनी मान्यता दिँदै आयोगले पार्टीको आधिकारिक अभिलेखमा उनको नाम सभापतिको रूपमा समावेश गरेको जनाएको छ।
निर्वाचन आयोगको निर्णयपछि नेपाली कांग्रेसको संगठनात्मक संरचना, संसदीय दल र निर्वाचनसम्बन्धी गतिविधि सञ्चालनमा स्पष्टता आएको छ। साथै, आगामी निर्वाचन र पार्टीका औपचारिक निर्णय प्रक्रियामा थापाको नेतृत्व वैधानिक रूपमा प्रभावकारी हुने भएको छ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगले दलको केन्द्रीय पदाधिकारी, विधान, केन्द्रीय कार्यालय र आधिकारिक हस्ताक्षरकर्तासम्बन्धी विवरण अद्यावधिक गर्ने व्यवस्था छ। सोही प्रक्रियाअनुसार आयोगले थापा पक्षको विवरण स्वीकृत गरेको जनाएको छ।