नेपाली कांग्रेसको गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरेको छ।
पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा आव्हान गरिएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो। चार दिनसम्म चलेको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दै नयाँ कार्यदिशा तय गरेको नेताहरूले बताएका छन्।
सभापति चयन हुनुअघि नै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो। उक्त निर्णयकै बीच विशेष महाधिवेशनबाट थापा सभापति चयन भएपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक ध्रुवीकरण थप स्पष्ट भएको छ।
पार्टीको आगामी रणनीति, विधान कार्यान्वयन र संगठन पुनर्संरचनाबारे नयाँ नेतृत्वले चाँडै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने जनाइएको छ।