Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बेहुली लिन जाने भन्दै जीप बुक गरेर बैंक लुट्न सिन्धुली पुगेका समूह पक्राउ

सिन्धुलीको एसबीआई बैंक लुटपाटको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखा लुटपाट भएको हाे ।

उक्त लुटपाटमा उनीहरुले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरी बैंकका अन्य कर्मचारीलाईसमेत नियन्त्रणमा राखेर बैंक लुटिएको थियो ।

पक्राउ पर्नेमा दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका हुन्। उनीहरुले बैंक लुट्न प्रयोग गरिएको ०३९८ नम्बरको टाटा सुमो जीप र चालक भगत सिंह थापालाई पनि प्रहरीले नियन्त्रणमा लिसकेकाे बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बैंकको तीन करोड १० लाख रुपैयाँ लुटपाट भएको खुलेको बताए । साथै लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० सय रुपैयाँ बैंक नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको समेत बताए । 

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले काभ्रेबाट टाटा सुमो जीप बेहुली लिने भन्दै भाडामा लिएर गएको थियाे। तर, उक्त समुहले सिन्धुली पुगेपछि मात्र लुटपाट गर्न प्रयाेग गरेकाे खुलेकाे छ ।

पक्राउ परेकाहरु सबै मजदुर  हुन् र उनीहरु घरमा रंग लगाउने समूह भएकाे प्रहरीले बताएकाे छ ।