नेपाली काँग्रेसले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक आज बस्दै नबसी स्थगित भएको हो ।
अब बैठक भोली बिहान ८ बजे बस्ने बताइएको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्षबीच राति वार्ता हुने र सहमतिमा पुर्याउने नेताहरुले दाबी गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् ।
वार्ता चलिरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र समाप्त भएको छ भने भोलि नेतृत्व चयनको लागि निर्वाचन जानकारी दिइएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ ।