जय महांकाल युवा समूहले देशमा देखिँदै आएको धार्मिक द्वन्द्वको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पौष २८ गते सोमबार गृहमन्त्री ओम प्रकाश अर्याललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
जय महांकाल युवा समूह संस्थाका केन्द्रीय महासचिव मनिष विश्वकर्माले गृहमन्त्री अर्याललाई उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा महासचिव विश्वकर्माले संस्थाले सञ्चालन गर्दै आएको मानवता बचाउ अभियान अन्तर्गत वैदिक सनातनी धर्मावलम्बीहरूको धर्म, संस्कृति, संस्कारको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताए।
उनले नेपालभित्र रहेका सम्पूर्ण धर्मावलम्बीहरूलाई सम्मान र स्वीकार गर्दै सनातन कालदेखि चलिआएको आस्था, विश्वास र सिद्धान्तलाई सिरोपर गरिएको उल्लेख गरे। साथै, समय–समयमा देशमा हुने धार्मिक द्वन्द्वप्रति संस्थाले दुःख र खेद प्रकट गर्दै आएको पनि जानकारी गराए।
यस अवसरमा गृहमन्त्री ओम प्रकाश अर्यालले वैदिक सनातनी धर्मको संरक्षण गर्नु नेपाल सरकारको प्रमुख दायित्व रहेको बताउँदै धर्म रक्षाका लागि सरकारका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको र आगामी दिनमा पनि जारी रहने विश्वास दिलाए। संविधानले नै वैदिक सनातन धर्मको संरक्षण सुनिश्चित गरेको स्पष्ट पार्दै उनले धर्म परिवर्तन दण्डनीय कार्य रहेको र वैदिक सनातन धर्मअनुसार सबै धर्मावलम्बी मिलेर बस्ने परम्परा रहेको पनि उल्लेख गरे।
कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री ओम प्रकाश अर्याल तथा जय महांकाल युवा समूहको तर्फबाट केन्द्रीय महासचिव मनिष विश्वकर्मा, विद्यार्थी विभाग प्रमुख प्रविण भुसाल र केन्द्रीय सदस्य सविन लामिछानेको उपस्थिति रहेको थियो।
