Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

किने लोप हुँदैछ थारु पोसाक ?

कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो । 
 
अहिले थारु समुदायले त्यस्तो पोसाक लगाएको कमै देखिन्छ । कुनै कार्यक्रम वा पोसाकको सन्देश दिनका लागिबाहेक अन्य समयमा ती पोसाक लगाउने गरिँदैन ।
 
पहिला पोसाकले पहिचान झल्काउने बताउँदै पछिल्लो समय पोसाक लगाउनेहरू कम हुँदै जाँदा थारु समुदायका र अन्य समुदायका व्यक्तिमा फरक छुट्याउन नसकिने तुलसीपुरस्थित नमूना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीले बताए । “थारु समुदायका आफ्नै पहिचान छन् पहिरन छन् । हाम्रा पूर्खाले त्यस्ता पहिरन लगाउने गर्थ्याे”, उनले भने, “तर, अब त्यो हराउने अवस्थामा पुगेको छ ।” 
 
अहिले बुढापाकाले ती पोसाक लगाउने गरे पनि नयाँ पुस्ताले खासै चासो नदिएका उनको भनाइ छ । यस्ता पोसाक संरक्षण गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि औपचारिकमा मात्रै सीमित हुने गरेका उनले बताए। 
 
आधुनिक समाजसँग थारु समुदाय पनि घुलमिल हुँदा आफ्ना पहिचानको संरक्षणमा चासो नदिएका अध्यक्ष चौधरीले बताए। “थारु समुदायको कार्यक्रममा केहीले मौलिक पोसाक लगाएको देखिन्छ”, उनले भने, “त्यो बाहेक अन्य समयमा लगाएको पाइँदैन ।” अहिले थारु समुदायको पोसाक देख्दा आफ्नै समुदायका व्यक्तिले अनौठो मान्ने अवस्था आइसकेको उनको भनाइ छ ।
 
स्थानीय सरकार तथा सरोकार भएका निकायले थारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृति, पोसाक, परम्परा संरक्षण र प्रवर्द्धनसँगै पुस्तान्तरणमा जोड दिनुपर्ने अध्यक्ष चौधरीले बताए ।