Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

दक्षिणी तराईमा शीतलहरको जोखिम न्यूनीकरणका लागि अति विपन्न परिवारलाई न्यानो सामाग्री वितरण

बिगत केही सातादेखि शुरु भएको शीतलहरबाट पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको संयुक्त साझेदारीमा दक्षिणी तराईमा शीतलहरको सम्भावनाका लागि पूर्वकार्य तथा प्रतिकार्य परियोजना अन्तर्गत न्यानो कपडा तथा आवश्यक सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम अन्तर्गत हरिपुर्वा नगरपालिकाका २१० घरधुरी र पर्सा गाउँपालिकाका १०० घरधुरी अति विपन्न तथा सिमान्तकृत घरपरिवारहरूलाई न्यानो सामग्री वितरण गरिएको हो । शीतलहरको समयमा उच्च जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सहयोग सामग्री वितरण गरिएको आयोजक संस्था बागमती सेवा समाज नेपालका कार्यक्रम बिभाग प्रमुख भरत कुमार कार्कीले बताए ।

WhatsApp Image 2026-01-09 at 7.57.00 PM (1).jpeg

वितरित सामग्रीमा प्रति परिवार पिलव कम्बल २ थान, वयस्कका लागि ऊनी टोपी २ थान, बालबालिकाका लागि ऊनी टोपी ३ थान, वयस्कका लागि ज्याकेट २ थान, बालबालिकाका लागि ज्याकेट ३ थान, महिलाका लागि ऊनी पछ्यौरा १ थान, महिलाका लागि ऊनी मोजा २ जोडा तथा पि–फम चटाई १ थान (५.८ मिटर) समावेश गरिएको छ ।

सामाग्री वितरण कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम प्रबन्धक राम कुमार यादवले प्रति परिवार ७ हजार ८ सय पच्चिस रुपैयाँ बराबरको सहयोग सामग्री वितरण गरिएको जानकारी दिँदै शीतलहरबाट हुन सक्ने मानवीय जोखिम न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।

WhatsApp Image 2026-01-09 at 7.57.01 PM.jpeg

यसैगरी बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले शीतलहरबाट जोगिन तथा जोखिम न्यूनीकरण गर्न गरिएको यस पहलले समुदायलाई आमागी दिनमा पूर्वतयारीमा समेत ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका  र जिल्ला विपद् ब्यवस्थापन समिति सर्लाहीको समेत समन्वयमा संचालन गरिएको उक्त राहत सामाग्री वितरण कार्यक्रमका लागि युके एड र स्टार्ट फण्ड नेपालले आर्थिक सहयोग गरेको थियो। कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरी, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, समाजसेवीहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।