Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिने आशिका तामाङको घोषणा

सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । आशिकाले काठमाडौँ क्षेत्र नम्बर २ वा ९ बाट आफु स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । 

उनले पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनपछि सम्पूर्ण सरोकारवालासँगको प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण र विशेष गरी जेनजी भाइबहिनीहरूसँग छलफलपछि यस्तो निर्णय गरेको बताएकी छन् ।

छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोण आएको बताउदै आशिकाले अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै जिम्मेवार निर्णय हुने ठानेको उनले उल्लेख गरेकी छन् । उनले भनेकी छन्- 'यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु । विशेष गरी जेनजीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ ।'

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित रहेको र युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।