Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

म बाँच्न चाहन्छु, मलाई बचाइदिनुहोस्: दृष्टिविहीन मृगौला पीडित संगीता महतो

प्रकृति पनि कहिलेकाहीँ कसैकसैका लागि किन यति कठोर हुन्छ होला? चितवनको भरतपुर महानगरपालिका सुक्रनगर २५ नमुना चोकमा मृगौला पीडित संगीता महतो बस्छिन्। उनी जन्मजात दृष्टिविहीन हुन्। उनको परिवारमा आमा बुबा, दुई भाइ र एक दाइ छन्। कृषक परिवारमा जन्मिएकी संगीता चितवनको नारायणी नमुना माध्यमिक विद्यालयबाट २०६९ सालमा एसएलसी उत्तीर्ण भइन्।त्यसपछि उनले चितवनकै मैयाँदेवी कन्या क्याम्पसमा आमसञ्चार पत्रकारितामा ११ १२ को अध्यन पूरा गरिन्। सप्तगण्डकी क्याम्पसबाट स्नातक तह पनि आमसञ्चार पत्रकारितामै सकिन्।  ११ कक्षादेखि नै उनी बाथ रोगको सिकार हुन पुगिन्। फुपुको सहयोगमा भारतको बिहारमा उपचार गराउँदा पनि झण्डै ४ वर्षसम्म बाथले संगीतालाई सतायो। बल्लतल्ल निको भएर स्नातक सकेपछि भविष्यको मिठो सपना बोकेर उनी काठमाडौं आइन्।

जीवनको गुजारा गर्न र आफ्नै खुट्टामा उभिनकालागि चावहेलस्थित एक दोहोरी साँझमा गीत गाउन थालिन्। भोकल सिक्ने तयारीमै रहँदा स्वास्थ्यमा समस्या देखिन थाल्यो हातखुट्टा सुन्निने बान्ता हुने। २०७७ सालको लकडाउनमा उनी घर फर्किन बाध्य भइन्। बाबा जीवन महतोसँगै चितवन मेडिकल कलेज पुग्दा डाक्टरले बायोप्सी गर्नुपर्ने बताए। तर आर्थिक अभावले अस्पतालमा भर्ना हुन नसकेर औषधि लिएर घर फर्किनुपर्‍यो। संगीतालाई स्वास्थ्य अवस्था झन् बिग्रिएपछि फेरि अस्पताल पुग्दा ऋण खोजेर २२ दिनसम्म चितवन मेडिकल कलेजमा संगीता भर्ना भइन्।

त्यही बेला डा अरुण सेढाईले दुबै मृगौला फेल भएको पुष्टि गरे। यो खबरले उनका बुबा जीवन महतोको संसार नै भत्कियो। छोरीलाई सत्य भन्न नसकेर ICU बाहिर एकोहोरो टोलाइरहन्थे। "मैले कसैको बिगारेको थिएन, यति ठूलो बज्रपात किन हाम्रो परिवारमा?" भनेर प्रकृतिसँग प्रश्न गरिरहन्थे। छोरी दृष्टिविहीन त थियो नै अब उसको भविष्य कस्तो हुन्छ मृगौला कसरी खोज्ने हात जोड्न मुस्किल भइरहेको बेला यति महँगो उपचार कसरी गर्ने भनेर उनी रोइरहेका हुन्थे। तर त्यो आँसु पनि उनले छोरीलाई देखाउन सकेनन्। संगीताले साथी देवन्तिबाट आफ्नो दुबै मृगौला फेल भएको थाहा पाइन्। त्यस क्षण जीवन सकिएको जस्तो उनलाई लाग्यो। अँध्यारो जीवन अझ अँध्यारो भयो महतोको निम्ति। सम्भावनाका सम्पूर्ण ढोकाहरू उनले बन्द भएको जस्तो आभास गरिन। बाँच्ने रहर नै मारिन्। तर पनि उनले आफूलाई समालिन्। जस्तो भएता पनि आखीर बाँच्नै पर्दो रहेछ उनले भनिन् ।

त्यस दिनदेखि उनको दिनचर्या अस्पतालको भेन्टिलेटर, आइसियु, वाड सिसियुमा बित्न थाल्यो। साथीहरू पनि टाढा हुन थाले। ४ वर्षदेखि उनी हप्तामा दुई पटक डायलोसिस गर्न चितवन मेडिकल कलेज धाइरहेकी छन्। डायलोसिसले शरीर झन् कमजोर हुँदै गएको महसुस गर्छिन् महतोले । चन्दा उठाएर एक पटक भेन्टिलेटर, दुई पटक ICU बाट फर्किसकेकी छन् संगीता तर मृगौला प्रत्यारोपणका लागि अहिलेसम्म कुनै पहल भएको छैन।

उनको ब्लड ग्रुप O पोजेटिभ हो। उनका बुबाले मृगौला दिनकालागि तयार भएता पनि A पोजेटिभ भएकाले मिलेन। आमाको ब्लड ग्रुप मिल्दो भएता पनि शारीरिक कमजोरीका कारण दिन सकिनन्। हिजो अस्ति स्वस्थ हुँदा राम्रोसङ्ग व्यवहार गर्नेहरूले यो त दुइ दिनको पाहुना हो नि भनेर भन्दा आफू रातभरि रोएको संगीताले सुनाइन्। हौँसला भन्दा पनि हतोत्साहित पाउँदा जीवन अझ बोझिलो लाग्ने रहेछ उनले भनिन्। ठूला मान्छेहरूले दुई दुई पटकसम्म मृगौला प्रत्यारोपण गर्न पाएता पनि आफू गरिब भए कै कारणले गर्दा  हालसम्म पनि  म्रिगौला प्रत्यारोपण सम्भव नभएकोमा उनले दुखेसो पोखिन्।

डायलोसिस गर्न जाँदा खाना खाने पैसा समेत आफूहरूसङ्ग कहिलेकाहिँ नहुने गरेको उनले न्बताइन। कतिपयले मृगौला मिलाइदिन्छु त्यसैगरि समस्या सञ्चार माध्यममा पुर्याइदिन्छु भनेर आफूसङ्ग कतिपय व्यक्तिले पैसा समेत लिएको संगीताले दुखेसो पोखिन्। अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरू भएता पनि कसैले पनि आफ्नो आवाज नसुनेकोमा उनले पीडा पोखिन्।  वडामा सहयोगकालागि जाँदा  समेत वडा अध्यक्षले हालसम्म केही सहयोग नगरेको संगीताले बताइन्। सरकारले दिने मासिक ५ हजार रकम आफ्नो लागि पर्याप्त नभएकोमा महतोले गुनासो गरिन्। औषधि किन्नुपर्ने भएकाले त्यो रकम पुग्दैन।  दीर्घरोगि भत्ता  पनि ३ ४ महिनामा मात्र आउने भएकाले अस्पताल जानै गाह्रो हुने गरेको उनले गुनासो गरिन् ।

जीवन र मृत्युबीच लडिरहेकी संगीताले आफ्नो जीवन  बचाइदिन सम्पूर्ण नेपालिहरूमा अनुरोध गरिन्। स्वस्थ भएमा सडक सङ्गीत गरेर भएता पनि उपचार खर्च जुटाउथे।  तर अहिले परिवारको सहयोग बिना हिँडडुल गर्नै गाह्रो भएकाले केही गर्न नसकेको संगीताले बताइन्। सहयोगी मनहरूले ९८१५२६१४६२ मा सम्पर्क गर्न सक्ने कामना सेवा विकास बैंकको QR मार्फत आफूलाई आर्थिक सहयोग गर्न सक्ने उनले सम्पूर्ण नेपालिहरूमा अपिल गरिन्। सहयोग प्राप्त भएमा भक्तपुरको सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा गएर मृगौला प्रत्यारोपण गर्ने आफ्नो ठूलो सपना रहेको उनले  बताइन्। मरिसकेका सपनाहरूलाई पुनः बिउँजाउने र समाजलाई केही गरेर देखाउने चाहना रहेको महतोले आँसु झार्दै भनिन्।

संगीताको चित्कार केवल व्यक्तिगत पीडा मात्र होइन यो हाम्रो समाजको संवेदनशीलता स्वास्थ्य प्रणालीको कमजोरी र आर्थिक असमानताको प्रतिविम्ब पनि हो ।यिनि त एक प्रतिनिधी पात्र मात्र हुन् तर नदेखिएका नलेखिएका संगीताहरू अझ हाम्रो समाजमा कति होलान जीवन र मृत्युसँग सिँगौरी खेल्दै?

WhatsApp Image 2026-01-02 at 8.53.13 PM.jpeg
undefined