ब्राइड स्टार सोसाइटीका अध्यक्ष बासुदेव अधिकारी स्वयं दृष्टिविहीन छन, दृष्टिविहीन भएता पनि विपन्न तथा आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूलाई शैक्षिक सामग्रीदेखि आवश्यक सहयोग पुर्याउँदै आएका छन्। गोरखा एफएमसहित विभिन्न सञ्चार माध्यमहरूमा काम गरेर अनुभव बटुलेका उनले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कार्यरत छन्।
भूकम्प र कोरोना महामारीजस्ता विपत्तिका समयमा उनले सेतो छडीको सहारामा ग्रामीण बस्तीतर्फ पुगेर खाद्यान्न र अन्य सामग्री वितरण गरेका थिए। "कम काम गरौँ तर पूरा गरौँ" भन्ने सोच बोकेका बासुदेवका भाइ सुसिल पनि दृष्टिविहीन छन्। समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नै घरमा आश्रय दिने बासुदेवका दुई छोरामध्ये एक जापानमा छन् भने अर्को छोरा र श्रीमतीसँगै काठमाडौंमा बासुदेव बस्छन्।
श्रवणदृष्टिविहीन व्यक्तिहरूलाई जटिल सर्जरी गराउन सहयोग गर्दै आएका बासुदेवले Together for Nepal का संस्थापक सुभासन भट्राई, जेएनजे हेल्थ एकेडेमीका सीइओ रोसन कुमार झा लगायतका मनकारी व्यक्तिहरूको सहयोगमा महँगो उपचार सम्भव भएको बासुदेवले बताउँछन्। आर्थिक रूपमा कमजोर धादिङकी नम्रता सापकोटा, रुपन्देहीकी सरिता बनिया लगायत तीन जनाको कक्लियर इम्प्लान्ट सर्जरी बासुदेवले सहयोग जुटाएर सम्पन्न गराएका छन्।
रुपन्देहीको मायादेवी गाउँपालिका ४ कि सरिता बनिया जन्मजात दृष्टिविहीन हुन्। उनका दाइ, दिदी र आमा पनि दृष्टिविहीन छन् भने बुवा र ठूलो दिदी मात्र आँखाले देख्न सक्छन, घरकी कान्छी छोरी सरिताले मनिग्रामस्थित शान्ति नमुना उच्च मावि होस्टेलमा आधारभूत शिक्षा पूरा गरिन्। मोति घिमिरेको सहयोगमा काठमाडौं आइपुगेकी उनले कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पसमा बीएड अध्ययन सुरु गरिन्।

शिक्षिका बन्ने सपना बोकेर सेतो छडीको सहारामा होस्टेलबाट क्याम्पस पुग्ने सरिताको जीवनमा अर्को चुनौती पनि थपियो कानको श्रवण क्षमता घट्दै गयो। आठ कक्षासम्म सामान्य सुनाइ भए पनि नवौं कक्षादेखि समस्या बढ्दै गयो। बीएड अध्ययनकै क्रममा सुनाइ झन् कमजोर हुँदै गएता पनि उनले हार मानिनन्। २०८१ सालमा निमावि तहको अध्यापन अनुमतिपत्र प्राप्त गरिन् र २०८२ सालमा उत्कृष्ट अंकसहित बीएड अध्ययन पूरा गरिन्। दृष्टिविहीनता र श्रवण क्षमताको कमीले जीवन बोझिलो भएको महसुस गरिरहेकी सरिताले त्यस बखत केहि साथीहरू टाढिँदै गएको गुनासो गरिन्। कक्षामा शिक्षकले पढाएको नसुन्ने भएकाले होस्टेलमा साथीहरूको सहयोगमा अध्ययन गरेर सफलता हासिल गरेको सरिताले बताइन्।
बीएड अध्ययनकै क्रममा सरिता बासुदेव अधिकारीको सम्पर्कमा आइन्। बासुदेवले उनलाई अभिभावकझैँ साथ दिए। सरिताको कक्लियर इम्प्लान्ट सर्जरीका लागि मनकारी व्यक्तिहरूको सहयोगमा १५ देखि २० लाख रुपैयाँ सम्म बासुदेवले जोहो गरे। २०८२ साल मंसिर १ गते काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डा. रविन्द्रको टिमले सरिताको सफल सर्जरी सम्पन्न गर्यो। सर्जरीको क्रममा भाइ दिनेश आचार्य, होस्टेलकी साथी रसिला–अस्मिता र बासुदेव सरको परिवारले दिनरात साथ दिएको सम्झना गर्दै सरिता भाबुक भइन्। "सम्पूर्ण सहयोगी मनहरूकै कारण मैले नयाँ जीवन पाएको छु," उनले नेपालरैबारसँगको कुराकानीमा भनिन्।
हाल थेरापीमार्फत श्रवण क्षमता क्रमशः सुधार भइरहेको सरिताले बताइन। बासुदेव सर जहाँ गएता पनि आफूलाई साथमा लैजाने गरेको सरिताले सुनाइन। यसले गर्दा आफूलाई मानसिक रूपमा सकारात्मक रहन मद्दत पुर्याएको सरिताको बुझाई छ। "सुनाइ सुधार हुँदै गर्दा आफ्नै खुट्टामा उभिने सपना देखिरहेकी छु," उनले उत्साहपूर्वक भनिन्।
नेपालरैबार डटकमका लागि जिवन बनियाले बासुदेव अधिकारी र सरिता बनियासँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस