नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
विशेषगरी गत भदौ २४ गते जेन्जी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई महासंकटमा धकेलेको उनको ठहर छ । उनले यसलाई देशी विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित महाविध्वंसको संज्ञा दिएका छन् । साथै उनले वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै तर निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको आशंका व्यक्त गरेका छन् ।
त्यस्तै विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको र अब विश्वमा न्याय र समानतामा आधारित नयाँ व्यवस्थाले आकार लिइरहेको समेत उनले बताएका छन् ।