Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पाँच महिनामा ४४ अर्ब ८१ करोडको सवारी साधन आयात, राजस्व संकलनमा गिरावट

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ । पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपाली बजारमा इभी आयात सुस्त हुँदा त्यसको असर राजस्व संकलनमा पनि परेको छ। गत वर्षको तुलनामा यस वर्ष सवारी साधन आयातमा वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा करिब ३८ अर्ब रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । 

अघिल्लो महिनाको तुलनामा भने विद्युतीय सवारी साधन आयात घटेको छ । पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । जसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ । गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो । 

त्यस्तै, २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन् । जसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ ।

गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएका थिए ।