Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रवि छुट्ने भएपछि निकिता भन्छिन्- राजनीतिमै नआएकाे भए प्रतिशाेधकाे सिकार हुनुपर्ने थिएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा हुने भएपछि उनकी पत्नी निकिता पौडेलले कानुनी लडाइँ अझै जारी रहेको बताएकी छिन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिमा प्रवेश गरेकै कारण रवि प्रतिशोधको सिकार बन्नुपरेको उल्लेख गरेकी छिन्।

निकिताले लेखेकी छिन्, “बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के–के भोगियो, शब्दमा व्यक्त गर्न कठिन छ। यदि ऊ राजनीतिमा नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने थिएन।” उनले बढ्दो जनविश्वास कमजोर पार्न र व्यक्तिगत दुःख–हैरानी दिन रचिएको कथाको एउटा अध्याय आजको आदेशसँगै टुंगिएको उल्लेख गरेकी छिन्।

उनले यस अवधिमा परिवारले भोग्नुपरेका कठिन क्षणहरू पनि स्मरण गरेकी छिन्। “उसले कालकोठरी भोग्यो, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगेँ। सामान्य मानिसले यो तहको पीडा सहन सक्दैनन्। तर उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले कानुनी पाटोबाट उसको दृढतालाई जोगाउन हरसम्भव प्रयास गरेँ,” उनले लेखेकी छिन्।

निकिताले भगवानप्रतिको आस्था र विश्वासका कारण यो दिनको प्रतीक्षा गरिरहेको पनि उल्लेख गरेकी छिन्। “केही ढिलै भए पनि यो दिन आयो। कानुनी प्रक्रिया अझै बाँकी छ। न्यायिक प्रक्रियामार्फत तत्कालको यो राहतलाई दीर्घकालीन बनाउँदै हामी अझै सबल र सशक्त भएर उठ्नेछौँ,” उनको भनाइ छ।