Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेता उपाध्याक्षको निधनमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको केन्द्रीय समितीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै  

तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय समितिको बैठकले १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएका ९१ बर्षिय उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ । विसं २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री भएका थिए भने २०६२-०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य बनेका थिए । त्यसैगरी २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका उपाध्यायले २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकको भूमिका निभाएका थिए ।