Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गभर्नरलाई बर्खास्त गर्न जेनजी युनाइटेडको माग, अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

जेनजी युनाइटेडले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । आज अर्थ मन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले अर्थमन्त्री रामेश्वर खनाल समक्ष सो ज्ञापनपत्र बुझाएका हुन् ।

डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  जेन–जी युनाईटेडले अर्थमन्त्री अनासलँग अर्थतन्त्र सुधारको लागी लगानीकर्ताको सुरक्षाको प्रत्याभुति दिलाउन, विचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृत रुपमा लिएको ब्याज ऋणीहरुलाई फिर्ता गर्न, वैदेशिक ऋणको दुरुपयोग गर्न रोक लगाउन, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन माग गरेको छ । पौडेलको नियुक्ति राजनीतिक भागबण्डाको आधारमा भएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३) को दफा २० को (ग) मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा वाणिज्य कानुन विषयमा स्नात्तकोत्तर उपाधि हासिल गरी सोही क्षेत्रमा कार्य अनुभव हासिल गरेको (नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तिय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको) कार्य अनुभव सम्झनुपर्छ भन्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।