नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन आफूहरूलाई मान्य नरहेको बताएका छन्। एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्काल संसद् विघटन हुनुपर्ने धारणा राखेका हुन्।
जननिर्वाचित प्रतिनिधिलाई बाहिर राखेर लोकतन्त्र फस्टाउन नसक्ने उल्लेख गर्दै ओलीले डर, दबाब र प्रतिशोधको छायाँमा हुने चुनावले लोकतन्त्रलाई कमजोर बनाउने बताए। उनले अहिले फागुन ११ गते चुनाव गर्ने भन्दै नाटक भइरहेको आरोप लगाउँदै सरकारले चुनावको वातावरण नै नबनाएको दाबी गरे।
सरकारप्रति आक्रोश व्यक्त गर्दै ओलीले डर देखाएर, मिडिया ट्रायल गरेर, नेताहरूलाई अनुसन्धानको घेरामा राखेर र पासपोर्ट रोक्का गरेर कसरी निष्पक्ष चुनाव गराउन सकिन्छ भन्दै प्रश्न गरे।
अध्यक्ष ओलीले एमालेमाथि जेनजी विरोधी भएको आरोप लगाइएकोप्रति पनि आपत्ति जनाए। सरकारमा रहँदा स्टार्टअप कार्यक्रम, एआई नीति र युवा केन्द्रित नीति ल्याएको पार्टी एमाले कसरी जेनजी विरोधी हुन सक्छ भन्ने प्रश्न गर्दै उनले जेनजीको नाममा स्वार्थ पूरा गर्न खोज्नेहरूले एमालेविरुद्ध गलत भाष्य निर्माण गरेको आरोप लगाए।
महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, देशमा गणतन्त्र पनि त्यति नै बलियो हुने दाबी गरे। उनले एमाले राष्ट्रियताको पहरेदार पार्टी भएको र ८० वर्षको राजनीतिक इतिहासमा देशभक्त दलको पहिचान बनाएको बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई अगाडि बढाउँदै एमाले नेपाली विशेषतासहितको लोकतान्त्रिक गणतन्त्रको अग्रणी दलको रूपमा स्थापित भएको ओलीको भनाइ छ। उनले मानवतावाद, न्याय र विश्वशान्तिमा आधारित विदेश नीति एमालेको पहिचान भएको दाबी गरे।
अध्यक्ष ओलीले परनिर्भरताको वर्तमान युगमा पनि आफ्नै पौरखको बलमा देशलाई समृद्ध बनाउने दिशामा एमाले अघि बढिरहेको बताए। आफूहरू परिपूर्ण लोकतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै उनले राजनीति आम जनताको खुशीसँग जोडिनुपर्ने धारणा राखे।
अनिर्वाचित सत्ता आफूहरूलाई स्वीकार्य नभएको स्पष्ट गर्दै ओलीले जनताको मत जितेर शान्तिपूर्ण ढंगले देश सञ्चालन गर्नुपर्नेमा एमाले स्पष्ट रहेको बताए। लोकतन्त्र अजय र अजम्बरी भएको उल्लेख गर्दै उनले एमाले कमजोर भएमा राष्ट्रिय शक्ति नै कमजोर हुने दाबीसमेत गरे।