Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन् ।

शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिना अघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गरे।

सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालले कहिल्यै युद्ध लड्न नपरेको स्मरण गराउँदै ज्ञवालीले भदौ २३ र २४ गते काठमाडौंसहितका प्रमुख सहरी केन्द्रहरूको अवस्था युद्धग्रस्त मुलुक जस्तै देखिएको बताए ।

उनले भने, ‘एउटा चुनौतिपूर्ण अवस्थामा यो महाधिवेशनको आयोजना गर्दैछौ । आज भन्दा ठिक तीन महिना अगाडि यो देशले कहिले कल्पना नगरेको विनाशकारी स्थितीको सामना गर्यो । सन् १८१६ पछि नेपालले कहिले युद्ध लड्न परेन र लड्न परेको छैन् । सुगौली संन्धीमा हस्तारण गरेपछि युद्ध लड्नु परेको छैन् । तर भदौ २३ र २४ गते काठमाडौं लगाएतका मूख्य सहरी केन्द्रहरुको दृश्य यस्तो थियो मानौ नेपाल माथि कुनै शक्तिशाली देशले बम, बर्षा गरिरहेको छ ।मुलुकमा व्यापक विनाशको स्थिति सिर्जना भयो।’

नेता ज्ञवालीले जननिर्वाचित सरकार ढल्नु, प्रतिनिधिसभा विघटन हुनु र विधिको शासनको स्थानमा अराजकता हाबी हुनु त्यही समयको गम्भीर यथार्थ भएको बताए।
‘हाम्रा विरुद्ध बोल्न नपाइने, आवाज उठाउन नपाइने अवस्था सिर्जना गरियो,’ उनले भने।

उनले पुराना पार्टी र नेताहरू समाप्त भइसके, नेकपा एमाले समेत सकियो भन्ने भाष्य निर्माण गर्ने प्रयास भएको भन्दै त्यसलाई महाधिवेशनको उपस्थितिले खारेज गरेको दाबी गरे ।

‘मलाई गर्व छ, हामीलाई गर्व छ—आजको यो उपस्थिति प्रमाण हो कि नेकपा एमाले जीवित छ, सक्षम छ र निरन्तर अघि बढिरहेको छ,’ ज्ञवालीले भने ।