Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्छ: राष्ट्र्पति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । शनिबार ललितपुर महानगरको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्ने बताएका हुन् । 

उनले जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको बताउदै भने- 'लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो। नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्नुपर्छ ।'

उनले सो अवसरमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका थिए ।