Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेता कार्यकर्तालाई रास्वपाले भन्यो- आफूखुशी उम्मेदवारको घोषणा नगर्नु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न थालेपछि रास्वपाको उम्मेदवार छनौट समितिले सचेत गराएको हो ।

समितिले रुपन्देही-३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा उम्मेदवार तय भएकोले अन्य क्षेत्रमा टुंगो लाग्न बाँकी रहेको उम्मेदवार छनोट समितिले स्पष्ट गरको छ ।

समितिले भनेको छ: 

राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ । पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।’ 

पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं ।