Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

महानगरका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेकाको निःशुल्क स्वास्थ्योपचार गर्न सम्झौता

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ । 

विहिबार उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । 

लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ । 

चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ ।