Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एउटै प्रधानमन्त्रीले सबै डोको बोकेर हिँड्न सक्दैन : सुशीला कार्की

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयहरूको कुलपति रहन उचित नहुने बताएकी छन्। बुधबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको नेतृत्व संरचना स्वायत्त र व्यावहारिक बनाउन प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुपर्ने आवश्यकता औँल्याइन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन यस विषयमा सक्रिय रहेको उल्लेख गर्दै उनले भनिन्, “१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन्। विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन। राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन।”

प्रधानमन्त्री कार्कीका अनुसार विश्वविद्यालयको कुलपति विश्वविद्यालयकै सभाले चयन गर्ने व्यवस्था हुनु आवश्यक छ। उनले सबै जिम्मेवारी प्रधानमन्त्रीमै थोपारिएको वर्तमान संरचना व्यावहारिक नभएको टिप्पणी गर्दै भनिन्, “प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी बोकेर हिँडेर हुँदैन। भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो, हुर्केपछि आफैँ बढ्छ।”

कार्कीले सरकार विश्वविद्यालयको नीतिगत सहजीकरणमा मात्र सीमित हुनुपर्ने र कार्यकारी पक्षमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप गर्नु नहुनेमा जोड दिइन्। उनले भनिन्, “राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ।”

त्रिवि सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरिसकेको छ। यस अवसरमा प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरूले आत्मनिर्भर बन्ने मार्ग पहिल्याउनुपर्ने सुझाव पनि दिइन्।

“सधैँ सरकारको मात्र आश गरेर हुँदैन। शैक्षिक कार्यक्रम त्यसैअनुसार बनाएर विश्वविद्यालयले स्वआर्जन गर्न सक्छ। शिक्षक र विद्यार्थी मिलेर विश्वविद्यालयमै कमाइ गर्न सक्छन्,” उनले भनिन्।

उनका अभिव्यक्तिले नेपालको विश्वविद्यालय संरचनामा दीर्घकालीन सुधारको बहस पुनः ताजा बनेको छ।