Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ: वर्षा राउत

करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका रूपमा आउन पाउँदा उनी उत्साहित छिन् ।

यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनले बताइन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’ उनले भनिन् । उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।

Photo (5).jpeg

यस हिसाबले उनले यो सिनेमामा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । यसमा वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् । ‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु ।’

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि सिनेमामा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने सिनेमा भनेर बुझ्नु हुँदैन । ‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ’रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन् ।

सिनेमाका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी सिनेमाप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक सिनेमा हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन् । ‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन् ।

Photo (1).jpeg

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । सिनेमा मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।