Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने

नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ ।

मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ ।

भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोरञ्जन र तनाव घटाउने माध्यम बन्ने विश्वास छ,’ उनले भने ।

नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको फिल्म हाल यूरोप तथा मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । साथै, यूके, दक्षिण कोरिया र थाइल्यान्डमा पनि रिलिज प्रक्रिया अघि बढिरहेको निर्माता पक्षले जनाएको छ ।

अनमोल केसीले अभिनय गरेका यस फिल्मले अनमोलको करियरमै सर्वाधिक कमाइ गरेको फिल्म मानिएको छ । निर्देशक सुयोग गुरुङले निर्देशित तथा अनन्या फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारहरूको समेत अभिनय छ ।