Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

निर्वाचन आयोगको प्रष्टीकरण- मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ

निर्वाचन आयोगले मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने समाचारको खण्डन गरेको छ । विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीमा  अनधिकृत व्यक्तिहरूको पहुँच नरहेको प्रष्ट पारेको हो ।

आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भनेको छ- 'नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन् ।'    

आयोगले अगाडी भनेको छ- 'निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।'

आयोगले सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको जानकारी दिएको छ । साथै आयोगले नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश नभएको बताउदै प्रकाशन एवं प्रशारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न सबै सरोकारवालाहरूमा निर्वाचन आयोगले आग्रह गरेको छ ।