Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जेनजी आन्दोलनबारे ज्ञवालीको आरोप : बाह्य हस्तक्षेप योजनाबद्ध

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुक अहिले राजनीतिक अस्थिरता र बाह्य दबाबको जटिल परिस्थितिमा रहेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल, जिल्ला शाखा गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले वर्तमान सरकारलाई संविधानले मान्यता नदिएको र निर्वाचनमा अघि बढ्ने इच्छाशक्ति नभएको आरोप लगाउँदै संसद् पुनः स्थापना नहुँदा र चुनाव नहुँदा थप सङ्कटको स्थिति सिर्जना हुने बताएका छन्।

'प्रधानमन्त्री र उनका वरपरका समूहले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चुनाव रोक्ने प्रयास गरिरहेका छन्,' ज्ञवालीले भने, 'पुराना नेताहरूलाई हटाउने चेतावनीसहित चुनावको मिति घोषणा गरिन्छ तर शीर्ष नेताहरूलाई उपत्यकाबाहिर जान नदिने कार्य भइरहेको छ । यसरी जनता कसरी चुनावमा विश्वास गर्न सक्छन् ?'

ज्ञवालीले जेनजी आन्दोलनको असन्तुष्टि र विद्रोह बाह्य शक्तिहरूको पूर्व योजनाअनुसार भएको आरोप पनि लगाए। उनले वर्तमान राजनीतिक प्रणालीमा दलहरूलाई निषेध गरेर चुनाव सम्पन्न गर्न नसकिने बताए।

'निष्पक्ष र निर्भय वातावरण सुनिश्चित नगरी चुनाव गराउने सरकार गम्भीर छैन,' उनले स्पष्ट पारे। प्रतिनिधिसभा विघटन र वर्तमान सरकार दुवै असंवैधानिक रहेको एमालेको धारणा ज्ञवालीले पुनः दोहोर्‍याए ।

मुलुकमा स्थिरता र शान्ति कायम गर्न संसद् पुनः स्थापना अपरिहार्य रहेको तर्क गर्दै उनले भने, 'जेनजीका मागलाई समेटेर सबै दल सहभागी हुने सरकार गठन हुनुपर्छ।'

त्यसै गरी, जेनजी आन्दोलनको घटनाक्रम छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई ज्ञवालीले पूर्वाग्रही र दूषित मनसाययुक्त भन्दै अस्वीकार गरे। 'आयोगले आफ्नो अधिकार क्षेत्र बाहिर निर्णय गर्ने प्रवृत्ति देखाएको छ,' उनले भने ।