जेनजी आन्दोलनका अगुवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलन र राज्यपक्षबीच तयार हुँदै गरेको सहमतिपत्रको प्रस्तावित ड्राफ्ट बुझाएका छन्। शुक्रबार बिहान सिंहदरबारमा भएको भेटवार्तामा उनीहरूले औपचारिक रूपमा सहमतिपत्र प्रधानमन्त्री कार्कीसमक्ष प्रस्तुत गरेका हुन्।
जेन–जी आन्दोलनका प्रतिनिधि मण्डलका अनुसार ड्राफ्टमा शहीद तथा घाइतेको त्याग–बलिदानको सम्मान र न्याय सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। साथै परिपूरण, दीर्घकालीन स्मरण, भाद्र २३ देखि २५ का घटनाको छानबिन र अभियोजनसम्बन्धी स्पष्ट प्रक्रिया प्रस्ताव गरिएको छ।
सहमतिपत्रमा समावेश प्रमुख बुँदाहरू यसप्रकार छन्:
शहीद र घाइतेको बलिदानप्रति न्याय, सम्मान र उचित परिपूरणको व्यवस्था
भाद्र २३–२५ का घटनाको निष्पक्ष अनुसन्धान र कारबाही
यस्ता घटना भविष्यमा नदोहोरिन संस्थागत सुधार गर्ने व्यवस्था
संस्थागत भ्रष्टाचारको अन्त्य तथा सार्वजनिक संस्थाहरूको दलीयकरण रोक्ने प्रतिवद्धता
दलीय भागबण्डाका आधारमा हुने नियुक्ति प्रक्रियाको अन्त्य
स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता
प्रधानमन्त्री कार्कीले प्रस्तावित ड्राफ्टको विस्तृत अध्ययन गरी छलफल अघि बढाइने बताएको स्रोतले जनाएको छ। सहमतिपत्र अन्तिम रूप दिने उद्देश्यसहित दुवै पक्षबीच निकट भविष्यमै थप वार्ता हुने अपेक्षा गरिएको छ।