नेकपा (एमाले) ले पार्टीको जनपरिचालन कार्यक्रमअन्तर्गत आज देशका सबै ७५३ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सञ्चालन गर्दैछ।
पार्टीले प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा जनप्रदर्शन कार्यक्रम तय गरेको हो।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असोज २२ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडाभेला सम्पन्न भइसकेका छन्। उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटनको विवाद र एमालेको आगामी रणनीतिबारे कार्यकर्तालाई जानकारी दिइएको थियो।
गौतमका अनुसार, आजका कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय स्थानमा नारा–जुलुससहित जनसभा र कोणसभा कार्यक्रम आयोजना गरिएको छ।
पार्टी केन्द्रले जनतालाई सचेत र सशक्त बनाउने नाराहरू तय गरेको छ। प्रदर्शनलाई प्रभावकारी बनाउन सहभागीहरूले एमालेको झण्डा सहित घना बस्ती भएका स्थानमा जनप्रदर्शन गर्ने, अन्त्यमा छोटो कोणसभा गर्ने र वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट पार्ने निर्देशन दिइएको छ।
एमालेले जनप्रदर्शनका तस्बिर, भिडियो र मुख्य विषयवस्तु सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रसारण गर्न सबै सदस्यलाई निर्देशन गरेको छ।
आजको जनप्रदर्शन कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने केन्द्रीय जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचार अभियानको तयारीको रूपमा रहेको पार्टीले जनाएको छ।