Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनसेल र मेटलाइफ नेपालद्वारा ‘डाटासँगै जीवन बीमा’ योजना सुरु

एनसेल आजियाटा र मेटलाइफ नेपालले संयुक्त रूपमा ‘डाटासँगै जीवन बीमा’ नामक नयाँ सेवा योजना सुरु गरेका छन्। यो योजनाअन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन तथा घातक रोगको बीमा सुविधा एकैसाथ पाउनेछन्।

नेपालमै पहिलोपटक सुरु गरिएको यो योजनामा ग्राहकहरूले दुई विशेष प्याकेजमध्ये कुनै एक रोज्न सक्नेछन्।

पहिलो प्याकेजमा करसहित ९९ रुपैयाँमा ३ दिनका लागि १०० एमबी डेटा, साथै २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बीमा सुविधा प्राप्त हुन्छ। यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

दोस्रो प्याकेजमा ३९ रुपैयाँमा ३ दिनका लागि १०० एमबी डेटा, साथै ५० हजार रुपैयाँ बराबरको जीवन बीमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बीमा सुविधा पाइनेछ। यस बीमाको मान्यता अवधि पनि ३० दिन रहनेछ।

ग्राहकहरूले एनसेल एपमार्फत मनपर्ने प्याक छनोट गरी बीमाका लागि फाराम भरेर सजिलै सेवा लिन सक्नेछन्। साथै, १२३४*६# डायल गरेर पनि प्याक खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

टर्म लाइफ इन्स्योरेन्स प्याक खरिद गरेको क्षणदेखि नै लागू हुनेछ भने घातक रोग बीमा कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुनेछ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यस सहकार्यले डिजिटल पहुँचका माध्यमबाट बीमा सेवा देशभरका ग्राहकसम्म पुर्‍याउने उद्देश्य राखेको बताए।

उनले भने, “मेटलाइफ नेपालसँगको सहकार्यले सामाजिक जिम्मेवारी पूरा गर्दै बीमा पहुँचलाई तल्लो तहसम्म विस्तार गर्नेछ। ग्राहकको जीवनमा सकारात्मकता र मुस्कान ल्याउनु नै हाम्रो प्राथमिकता हो।”

त्यस्तै, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले बीमा सबैको अधिकार हो भन्ने विश्वासमा आधारित साझेदारी भएको बताए।

“सामान्य डेटा खरिदबाटै परिवारलाई दीर्घकालीन सुरक्षा दिने यो योजना हाम्रो साझा उद्देश्यको अभिव्यक्ति हो,” उनले भने।

कम्पनीका अनुसार, यो योजना विशेषगरी ग्रामीण र दूरदराजका समुदायमा बीमा पहुँच सहज बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ। सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको यो योजना नेपालमा वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको नयाँ अध्याय बन्ने लक्ष्य राखिएको छ।

Ncell_Data Sangai Jeevan Beema.jpg