टिकटकले मापदण्ड विपरितका भिडिओ धमाधम हटाएको छ । नेपालमा पछिल्लो तीन महिनामा मात्रै २४ लाखभन्दा बढी भिडिओ हटाएको तथ्यांकले देखाएको छ ।
बीबीसीका अनुसार सन् २०२५ को दोस्रो त्रैमासिक (अप्रिल-जून) रिपोर्टका अनुसार नेपालमा २४ लाख ७६ हजार ३४५ वटा भिडिओहरू उक्त प्ल्येटफर्मबाट हटाइएको हो।
टिकटकले प्रत्येक तीन महिनामा ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समन्ट रिपोर्ट’ प्रकाशित गर्ने गरेको उसको वेबसाइटमा देखिन्छ। सन् २०२५ जनबरी–मार्चको अवधिमा टिकटकले नेपालमा १८ लाख ७६ हजार ५६२ वटा भिडिओहरू हटाएको थियो।
टिकटकले कसरी कन्टेन्ट मोडरेट गर्छ र प्रयोगकर्ताहरूको सम्मानको कसरी रक्षा गर्छ भन्नेबारे प्रतिवेदनले महत्त्वपूर्ण जानकारी दिने गरेको उसको तर्क रहेको छ।
चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको टिकटकका अनुसार मापदण्डविपरीतका अधिकांश भिडिओहरू ‘अटोमेटेड डिटेक्शन सिस्टम्स’ मार्फत् हटाइने गरिएको छ।
त्यसरी हटाउने गरिएकामध्ये कतिपय भिडिओहरू मानवले समीक्षा गर्दा मापदण्डविपरीत नभएको पाइएमा पुनः तिनलाई राखिदिने गरिन्छ।
संवेदनशील तथा वयस्क प्रकृतिका सामग्री, गोपनीयता तथा सुरक्षा मापदण्डविपरीतका सामग्री, सुरक्षा तथा शिष्टताविपरीतका सामग्री, मानसिक तथा व्यवहारगत स्वास्थ्यविपरीतका सामग्री, मिथ्या सूचना र सम्पादित अथवा एआई सिर्जित मिडिया सामग्री भएका भिडिओहरू हटाउने गरिएको उसको वेबसाइटमा उल्लेख छ।
टिकटकले मापदण्डविपरीतका अकाउन्टहरू हटाउने, लाइभहरू बन्द गर्ने र कमेन्टहरू पनि हटाउने कार्य गर्दै आएको छ। जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउनका लागि टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा नक्कली खाताहरूको प्रयोग समेत भएका विवरणहरू आएका थिए। नेपाल सरकारले सन् २०२३ को नोभेम्बरमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ भन्दै सन् २०२३ को नोभेम्बर दोस्रो साता सरकारले नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगायो। उक्त कदमको चर्को आलोचना भएको थियो। कतिपयले टिकटकमाथि प्रतिबन्ध लगाइएपछि त्यसले नेपालमा आर्थिक असर पारेको बताउँदै आएका थिए।
प्रतिबन्ध लगाइएको नौ महिनापछि सन् २०२४ को अगस्ट तेस्रो सातातिर सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन टिकटकले सहमति जनाएको भन्दै प्रतिबन्ध फुकुवा गर्ने सरकारले निर्णय गर्यो।