Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

नेरघाटमा बेलीब्रिज निर्माण बनेसँगै कर्णाली करिडोरसँग जोडियो मुगुको सोरु, १५ सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित

वर्षौंदेखि तुइन र झोलुङ्गे पुलको भरमा आवतजावत गर्न बाध्य मुगुको सोरु गाउँपालिका–५ का स्थानीयवासीले अब बेलीब्रिजमार्फत सहज यात्रा गर्न पाउने भएका छन्। नेरघाटमा ६० मिटर लामो बेलीब्रिज निर्माण सम्पन्न भएसँगै सोरु गाउँपालिका पहिलो पटक कर्णाली करिडोरसँग सडकमार्फत प्रत्यक्ष रूपमा जोडिएको हो।

पूर्वाधार विकास कार्यालय मुगुले निर्माण सम्पन्न गरेको उक्त बेलीब्रिजले स्थानीय नागरिकको दैनिक जीवन मात्र सहज बनाएको छैन, वर्षौंदेखि यातायात अभावका कारण बजारसम्म पुग्न नसकेका स्थानीय कृषि उत्पादनलाई पनि नयाँ बजारको पहुँच दिलाउने विश्वास गरिएको छ।

द.png

पूर्वाधार विकास कार्यालय मुगुका अनुसार २०८१ असार ४ गते करिब ४ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको पुल २०८३ असार मसान्तमा निर्माण सम्पन्न भएको हो। ललितपुरस्थित रिडार्क नेपाल प्रालि ले निर्माणको जिम्मा लिएको उक्त पुल निर्माणका क्रममा हुम्ला कर्णाली नदीको उच्च बहाव र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका कारण केही ढिलाइ भएको जनाइएको छ।

पुल सञ्चालनमा आएपछि नेर र ताजा गाउँका १,५०० भन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै, हुम्लातर्फ आवतजावत गर्ने सर्वसाधारणले समेत पुलको सुविधा लिन सक्नेछन्।

स्थानीयका अनुसार यसअघि बाबियोको डोरीबाट बनाइएको तुइन र पछि निर्माण गरिएको झोलुङ्गे पुल नै आवागमनको एकमात्र विकल्प थियो। अहिले भने बेलीब्रिज बनेपछि मानिससँगै पशुचौपाय ओसारपसार गर्न पनि सहज भएको छ।

स्थानीयवासी विरुपक्ष शाहीले पुल निर्माणसँगै दैनिक आवतजावत सुरक्षित र सहज भएको बताए। उनका अनुसार अब गाउँमा उत्पादित रैथाने बाली तथा कृषि उपज सहज रूपमा बजारसम्म पुर्‍याउन सकिने भएकाले स्थानीयको आम्दानी बढ्ने अपेक्षा गरिएको छ।

img_8552_94474136.png

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले पनि पुल निर्माणले स्थानीय उत्पादनको बजारीकरण, यातायात पहुँच विस्तार तथा ग्रामीण अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहनसिंह खड्काले पुल सञ्चालनमा आएपछि मुगुका नेर र ताजा बस्तीका बासिन्दामात्र होइन, हुम्लातर्फ आवतजावत गर्ने यात्रुहरूलाई समेत ठूलो राहत मिल्ने बताए।

स्थानीयका लागि दशकौँदेखिको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो बेलीब्रिजलाई कर्णाली क्षेत्रको यातायात पहुँच विस्तार र ग्रामीण आर्थिक गतिविधि सुदृढीकरणतर्फको महत्वपूर्ण पूर्वाधार उपलब्धिका रूपमा हेरिएको छ।