नेकपा एस (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेतृत्व पुनर्संरचना गरेर जनतामा भरोसा जगाउने पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । बुधबारदेखि जारी नेकपा एसको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै उनले बलियो संगठन बनाउने दिशामा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार अघिल्लो पटक नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी जनस्तरमा सुदृढ हुन सकेन । भुसालले सो एकताबाट संस्थागत शक्ति बढ्नुको सट्टा तत्कालीन अध्यक्ष केपी शर्मा ओली मात्र सशक्त बनेको टिप्पणी गरे ।
उनले अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब फरक भूमिकाबाट योगदान दिनुपर्ने सुझाए । हाल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भइरहेको सन्दर्भमा भुसालले नाम र झण्डा मात्र मिलाएर एकता गर्नु उपयुक्त नहुने बताए।
उनले भने, 'माधवजी र प्रचण्डजी, तपाईँहरूको भूमिकालाई कार्यकर्ताले त स्वीकार गर्छन्, तर जनताले त्यसरी स्वीकार गरेका छैनन् । अब आदेशले होइन, सिद्धान्त र विचारका आधारमा एकता गर्नुपर्छ । नाम र झण्डा मिलाएर गर्ने प्राविधिक एकता अपमानजनक हुनेछ।' भूसालले पार्टीलाई पुनर्गठन गर्दै बृहत् वाम एकताको सम्भावना खोल्न सकिने बताउँदै अध्यक्ष नेपालले आफ्नो प्रस्तावमाथि प्रतिक्रिया दिएपछि मात्रै औपचारिक निर्णय दिने बताएका छन् ।