Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलबाट ह्विलचेयरमा निस्किए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा सिंगापुर पुगेका छन् । उनीहरु उपचारका लागि भन्दै सोमबार राति ११ बजेको उडानमा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर गएका थिए ।

सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट ह्विलचेयरमा बाहिरिएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि आक्रमण कुटपिट भएको थियो । त्यसपछि नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा आक्रमण हुँदा सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । त्यसकै थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएका हुन् । जेनजी आन्दोलनपछि देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । सोही दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।