Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रुकुम पश्चिममा जीप दुर्घटना : ७ जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।

मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका२ स्यालाकी ३० वर्षीया कमला ओली, त्यही नगरपालिकाका १६ वर्षीय टेकजङ बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क. र २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीका अनुसार, दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये एक जना महिलाको पहिचान अझै खुल्न सकेको छैन।

रा.१ ज ४२२ नम्बरको बोलेरो जीप सडकदेखि करिब ७०० मिटर तल खसेको थियो। उक्त जीप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बताइएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी टोली अहिले पनि घटनास्थलमा उद्धार कार्यमा जुटेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।