रुकुम पश्चिममा भएको बोलेरो जीप दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
रा १ ज ४२२ नम्बरको बोलेरो जीप शुक्रबार बिहान बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमामा पर्ने झारमारेमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जीप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ जाँदै गर्दा सडकबाट अनियन्त्रित भई खसेको हो।
दुर्घटनामा जीप चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। घाइते अन्य यात्रुलाई स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार जीपमा सिट क्षमताभन्दा बढी यात्रु रहेका थिए। घटनास्थलमा अहिले पनि उद्धार र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत विवरण अझ आउन बाँकी रहेको र प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।