आत्मदाह प्रयासपछि उपचाररत गायिका नितु पौडेलको निधन भएको छ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान करिब साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। सो क्रममा गम्भीर रूपमा घाइते भएकी उनलाई तत्काल वर्न अस्पताल लगिएको थियो।
१२ दिनअघि लेखेकी थिइन् भावुक स्टाटस
मृत्युअघि करिब १२ दिनअघि उनले आफ्नो फेसबुक पेजमा एक निराशाजनक स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन् - “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”
उक्त स्टाटसले उनका प्रशंसक र साथीहरूमाझ मानसिक अवस्थाबारे चिन्ता जगाएको थियो।
प्रहरी अनुसन्धान जारी
उक्त घटनासम्बन्धमा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो। एसपी भट्टराईका अनुसार, “गिरी हाल पनि प्रहरी सम्पर्कमै छन्, तर उनीविरुद्ध अहिलेसम्म कुनै जाहेरी दर्ता भएको छैन।”
प्रहरीले आत्मदाहको कारण र त्यसअघि पौडेलको मानसिक अवस्थाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।