Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अन्धकारमा उज्यालो यात्रा: दृष्टिविहीन यात्रुका लागि पठाओको साथ

नेपालमा प्रविधिको विकाससँगै जनजीवनमा उल्लेखनीय परिवर्तन आएको छ। विशेषतः यातायात क्षेत्रमा देखिएको डिजिटल क्रान्तिले यात्रालाई सहज, सुरक्षित र सुलभ बनाएको छ। यही परिवर्तनको अग्रणी प्रतिनिधि हो पठाओ नेपाल- एक एप आधारित सेवा जसले यात्रु, चालक, व्यवसायी र उपभोक्तालाई एउटै सूत्रमा बाँध्ने माध्यमको रूपमा आफूलाई स्थापित गरिसकेको छ।

पठाओले सन् २०१८ सेप्टेम्बर २४ मा बाइक राइड सेयरिङ सेवा सुरु गर्‍यो। काठमाडौं उपत्यकाबाट सुरु भएको यो सेवा चाँडै लोकप्रिय बन्यो। सन् २०१९ अगष्ट ९ मा कार सेवा थपिएपछि यात्रुहरूलाई थप विकल्प उपलब्ध भयो। प्रारम्भमा यात्रु र चालकबीचको सम्बन्धलाई डिजिटल माध्यमबाट जोड्ने उद्देश्यले सुरु गरिएको पठाओले समयसँगै सेवा क्षेत्र र प्रकार विस्तार गर्दै सुपर एप बन्ने दिशामा अघि बढ्यो।

हाल पठाओले बाइक राइड, कार सेवा, कार रेन्टल, फुड डेलिभरी, पार्सल सेवा, बजार, ग्रोसरी र स्न्याक्स डेलिभरी तथा सेभर प्लान जस्ता सुविधाहरू प्रदान गरिरहेको छ। यी सेवाहरूले पठाओलाई केवल यात्राको माध्यम नभई दैनिक जीवनको डिजिटल सहायक बनाएको छ। सात वर्षको अवधिमा पठाओले विराटनगर, वीरगञ्ज, काठमाडौं उपत्यका, पोखरा, बुटवल, धनगढी लगायत २३ भन्दा बढी शहरहरूमा सेवा विस्तार गरेको छ। हजारौं चालक र डेलिभरी पार्टनरहरू आबद्ध छन्, जसले रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। पठाओले यात्रु र चालकको सुरक्षालाई प्राथमिकता दिएको छ। एपमार्फत चालकको विवरण, रेटिङ, ट्र्याकिङ सुविधा, दुर्घटनामा बीमा, आपतकालीन सम्पर्क र ग्राहक सेवा प्रणालीले यात्रालाई सुरक्षित बनाएको छ।

QR कोड भुक्तानी, पोन्ट संकलन, स्मार्ट सब्स्क्रिप्सन मोडेल र डिजिटल वॉलेट एकीकरणले प्रयोगकर्ता अनुभवलाई सहज बनाएको छ। पठाओले नियमित रूपमा सुपर फेस्ट, दशैं महोत्सव, नयाँ वर्ष बोनान्जा जस्ता अफरहरू ल्याउँदै सेवा प्रयोगमा प्रोत्साहन प्रदान गर्दै आएको छ। विशेषतः दृष्टिविहीन यात्रुहरूका लागि पठाओ सेवा आत्मनिर्भरता, सुरक्षा र सम्मानको माध्यम बनेको छ। सार्वजनिक यातायातमा अपाङ्गमैत्रि पूर्वाधारको अभाव, खाल्डाखुल्डि सडक, जेब्राक्रसिङको कमी, अस्पष्ट बस स्टप र यात्राको अनिश्चितताले उनीहरूको यात्रा कठिन बनाउने गरेको छ। यस्ता चुनौतीबीच, पठाओले प्रविधिको माध्यमबाट स्वतन्त्र रूपमा यात्रा गर्न सक्ने वातावरण सिर्जना गरेको छ।

कीर्तिपुरमा बसोबास गर्ने अस्मिता सैँजु, जो गोल्डेन गेट कलेजमा अध्ययनरत दृष्टिविहीन विद्यार्थी हुन्, सार्वजनिक यातायातमा यात्रा गर्दा बारम्बार कठिनाइ भोग्नुपरेको अनुभव साझा गर्छिन्। “अब मलाई बाटो काट्नुपर्दैन, गाडी रोकिदिन अरूलाई भन्नुपर्दैन। यी साना तर महत्वपूर्ण कुराले आत्मविश्वास बढाएको छ,” अस्मिता भन्छिन्। पहिले गाडी चढ्दा वा ओर्लिँदा सन्तुलन गुमाएर लड्ने गर्थिन्, तर अहिले चालकको सहयोग र एपको ट्र्याकिङ सुविधाले सुरक्षित यात्रा सम्भव भएको उनले बताइन्। गाडि बाट ओर्लिएर गन्त्वय सम्म जाँदै गर्दा कतिपय ठाउँमा आफू खाल्डोमा लडेको उनले स्मरण गरिन्। पठाओले आफूहरूलाई गन्तव्यसम्म लगिदिदा खाल्डोमा लड्ने सम्भावना नरहेको उनले बताइन्।

edc419eb-c55c-4160-9b9b-1769afbce5e4.jpeg

कीर्तिपुर पाँगामा बस्ने पवन खत्री, जो टियु कलेजमा मास्टर गरिरहेका लोभिजन विद्यार्थी हुन्। बेला बेलामा पठाओ प्रयोग गर्छन्। “पठाओमा यात्रा गर्दा आफू ढुक्क हुन्छु,” उनी भन्छन्। तर कहिलेकाहीँ राइडरले लोकेसन नभेट्दा समस्या हुने गरेको उनले बताए। भाडादर सस्तो भएमा दृष्टिविहीन विद्यार्थीहरूका लागि यात्रा अझ सहज हुने उनको धारणा छ।

508178540_122155054040428727_8425033294317790586_n.jpg

चोभारको होस्टेलमा बसिरहेकी श्रवण दृष्टिविहीन सरिता बनिया पनि पठाओ प्रयोगकर्तामध्ये एक हुन्। सार्वजनिक यातायातमा यात्रा र सञ्चारमा कठिनाइ हुने सरिताले पठाओले आफूलाई सहज बनाएको बताउँछिन्। यद्यपि कहिलेकाहीँ अफलाइनमा यात्रा गर्दा चालकले निर्धारित भन्दा बढी भाडा लिने गरेको अनुभव उनले साझा गरिन्। एप अझ अपाङ्गमैत्रि बनाइदिन पठाओलाई आग्रह पनि गरिन्।

9e905313-f58e-4288-a1cc-59db00377782.jpeg

पोखराका श्रवण दृष्टिविहीन हरि केसी, जो मसाज व्यवसायमा संलग्न छन्, पठाओले आफूलाई यात्रा गर्न सहज बनाएको बताउँछन्। तर रातको समयमा अनलाइन पठाओ गर्दा पनि चालकहरूले भाडा बढाउने गरेको गुनासो उनले पोखे। “रातको समयमा पठाओको एपले  आफै भाडा निर्धारण गरिदिएमा यात्रुहरूलाई अझ सजिलो हुनेमा,” हरिले  विश्वास व्यक्त गरे।

नेपाल नेत्रहिन संघ काठमाडौंमा कार्यरत खोमराज शर्मा पनि पठाओको नियमित प्रयोगकर्ता हुन्। यात्रुका लागि बीमा सुविधा उपलब्ध भएकाले सेवा प्रयोग गर्न सहज भएको उनले बताए। “अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज उपलब्ध गराएको खण्डमा यात्रा अझ सहज हुनेमा उनको भनाई छ. कतिपय चालकहरूले अनावश्यक प्रश्न गरेर आफूहरूलाई हैरान पार्ने गरेको सर्माले गुनासो पनि गरे। बहिरा साथीहरूले पनि पठाओ प्रयोग गर्ने हुँदा चालकले च्याटमार्फत सहयोग गरेमा यात्रा सहज हुने विश्वास उनले व्यक्त गरे। साथै, केही स्थानहरूको लोकेसन एपमा नभेटिने हुँदा पठाओले सुधार गर्नुपर्नेमा सर्माले सुझाव पनि दिए।

पठाओले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रोमो कोड उपलब्ध गराएको खण्डमा त्यसको दुरुपयोग नगरिदिनुहुन सबै अपाङ्गता साथिहरूमा उनले आग्रह गरे. आग्रह गर्दै शर्मा भन्छन्, “कोड दुरुपयोग भयो भने त्यसको असर हामीमाथि पर्छ। त्यसैले सबैले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ।” पठाओ नेपालले प्रविधिको माध्यमबाट दृष्टिविहीन यात्रुहरूको जीवनमा ल्याएको सहजता केवल यातायातको सुविधा मात्र होइन, स्वतन्त्रता, आत्मविश्वास र समावेशी समाज निर्माणको दिशामा उठाइएको महत्वपूर्ण कदम हो।