Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

वर्तमान सरकार तोडफोड र आगजनीबाट बनेको हो, देश बनाउने पार्टी एमाले नै होः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले शनिबार भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका हुन् ।

अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश भाग्ने कुरा सोच्न पनि नसकिने जिकिर गरे ।

उनले जेनजी आन्दोलनमा क्रममा शंकास्पद ढंगले गोली चलेको र तोडफोड, आगजनीको घटना भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने बताए । उनले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफुले गम्भीरतापूर्वक लिएको बताए । आफुमाथि लगाएका आरोपप्रति जवाफदेही हुने भन्दै उनले देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष ओलीले देश बनाउने पार्टी एमाले नै भएकाले हरेस नखान नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै उनले देश जोगाउन राष्ट्रिय एकता आवश्यक रहेकाले एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे ।